नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०३/०९ को निर्णयअनुसार राष्ट्रिय खेलकुद नीति, २०८२ स्वीकृत भएको छ । सो नीति यस मन्त्रालयको वेबसाइट मार्फत सार्वजनिक गरिएको छ। यस नीतिले नेपालको खेलकुद प्रणालीलाई संघीय संरचना अनुसार रुपान्तरण गर्दै लैजाने गरी तहगत सरकारहरु बीच सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित भई कार्य गर्न गराउन मार्गनिर्देश गरेको छ ।
यो नीतिका निम्नलिखित प्रमुख उद्देश्यहरु रहेका छन्:
- खेलकुदलाई जनजीवनको अभिन्न अङ्गको रूपमा विकास गरी स्वस्थ, सक्षम र अनुशासित जनशक्ति तयार गरी राष्ट्र निर्माणमा योगदान पुर्याउनु,
- संघ, प्रदेश र स्थानीय तहबिचको समन्वय र सहकार्यमा खेलकुद क्षेत्रको विकास र बिस्तार गर्नु,
- अन्तर्राष्ट्रिय समुदाय तथा निजी क्षेत्रको सहभागिता र लगानी आकर्षित गरी खेल क्षेत्रलाई व्यावसायीकरण तर्फ उन्मुख गराउनु,
- मनोरञ्जनात्मक, परम्परागत, साहसिक तथा पर्वतीयलगायतका खेलमार्फत पर्यटन प्रवर्धन, उद्योग क्षेत्रको विकास र बिस्तारका साथै रोजगारी सिर्जना गरी आर्थिक विकासमा टेवा पुर्याउनु,
- खेलकुदमा नवीनतम प्रविधि र अभ्यासहरू अवलम्बन गरी खेलकुदलाई स्वच्छ, स्वस्थ र परिणाममुखी बनाउनु,
- खेलकुद प्रतियोगितालाई प्रतिस्पर्धात्मक र गुणस्तरयुक्त बनाई अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको सार्थक, सशक्त र सक्रिय सहभागिता बढाउनु।
यो नीति ६ वटा उद्देश्य, १४ वटा नीति, २२ वटा रणनीति र ९२ वटा कार्यनीतिहरुमा समेटिएको छ ।यस नीतिको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय खेलकुद अनुगमन समिति गठन गरिनेछ, साथै तीनै तहका सरकारहरुले आफ्नो क्षेत्राधिकारअनुसार अनुगमन तथा मूल्यांकन गर्न सक्ने व्यवस्था समेत समेटिएको छ ।
यो नीतिको कार्यान्वयनबाट समग्र खेलकुद क्षेत्रको दिगो विकास, राष्ट्रिय गौरव अभिवृद्धि र मुलुकको अन्तर्राष्ट्रिय पहिचान सुदृढ गर्न महत्वपूर्ण योगदान पु-याउने विश्वास मन्त्रालयले लिएको छ ।